4/25/12

फेसबुक प्रतिक्षा


'तिमीले नसम्झिदाँ माया, बेग्लै हुँदो रै'छ...'

मोबाइलको सिंगटोन बज्यो । मल्लिका कार्कीको स्वरको यो गीत पहिलो चोटी बर्दिबासको सुनगाभा एफएममा सुनेको थिएँ। शुरूमै सुन्दा मन पर्यो । ल जा... म पनि के कम... त्यहाँको टेक्निसियन साथीलाइ पेनड्राइभमा कपी गर्न भने अनि बोकेर काठमाडौं ल्याएँ। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिएँ अनि बनाइदिएँ सिंगटोन। ब्लुटूथबाट मोबाइलमा सारे अनि सेट गरें सिंगटोनको रूपमा । मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आएपनि यही बज्ने।

यसो मोबाइलमै समय हेरें । रातको १ बजेको रहेछ । कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको होइन रै'छ। मिस्ड कल भनेर एउटा अज्ञात नम्वर देखें । ९८०३६..... यस्तै नम्वर थियो । मेरो एनटिसीमा पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्वर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिएँ । सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयो । भन्ठाने, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला । यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन । यस्ता म्यासेज मलाइ मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कल वाला नम्वरबाट आएको म्यासेज रै'छ। 'आइ एम वेटिङ यू इन फेसबुक'। यति मात्र लेखेको थियो, कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन । मस्त निद्राले च्यापेको बेला अनलाइन? मैले नि रिप्लाइ गरे, 'आइ एम स्लिपिङ । हु आर यू? आइ कुडनट रिकग्नाइज यू । प्लिज गिभ मि टू स्लिप । गुड नाइट ।' मनमा जति रीस उठेपनि म सितिमिति गाली नै गरेर कसैलाइ केही भन्न सक्दिन । सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजवको छ । एक मिनेट पनि नहुँदै अर्को म्यासेज आयो । रोमन नेपालीमा लेखेको थियो, 'सुतेको मान्छेले कसरी रिप्लाइ गर्छ? म तिमीलाइ फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज!' म माथि ठुलै चुनौती थियो । फेरी उठे, पानी पिएँ, अलि अलि भोक लाग्न थालेको रै'छ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने । सुत्ने खाटको साइडको सानो टेवलमा रारा चाउचाउ रै'छ, खोले अनि खान थाले । म्यासेज रिप्लाइ गरिन। एनसेलमा रिप्लाइ गर्दा झण्डै ३ रूपैंया काट्छ । बडो पैसा बचाउनेजस्तो गरें ।

यतिन्जेल निद्रा भागिसकेको थियो । ल्यापटप ताने अनि खोलें । मेरो एक्लो जीवनमा साथी भनेकै यही ल्यापटप त हो नि । सारै धेरै समयको सपना साँचेर किनेको ल्यापटप, सारै माया लाग्छ । अहिलेसम्म जीवनमा आफ्नै कमाइबाट किनेको सबैभन्दा महंगो बस्तु । निकै माया लाग्छ अनि कहिलेकाहिँ 'ल्यापी' भन्छु । अफिसमा साथीहरूले जिस्काउँछन्, 'के हो मुकु, ब्यागभित्र गर्लफ्रेन्ड हो?' गर्लफ्रेन्डले यति साथ दिन्थिन या दिदैंनथिन्, थाहा भएन तर यसले हरपल हरक्षण केही गुनासो नगरी साथ दिइरहेको छ । अँ साँच्ची, ल्यापटप खुल्यो, इन्टरनेटको तार जोडें । एकछिनमा याहू, जीटक, स्काइप सबै साइन इन भएँ । सरसर्ती हेरें, बिदेशी साथीहरू मात्र अनलाइनमा रै'छन् । अनि साइन आउट गरें । क्रोममा फेसबुक टाइप गरे अनि कन्ट्रोल इन्टर हाने । डब्लूडब्लूडब्लू र डट कम टाइप गर्न छाडेको निकै भयो । साइटको नाम टाइप गर्यो अनि कन्ट्रोल इन्टर । एकछिनमै फेसबुक खुल्यो । अनलाइनमा केही फेसबुक फ्रेन्डहरू थिएँ, तर कोही पनि निकै परिचित लागेन । यसो साथीहरूको स्टाटसमा जेपीटी कमेन्ट हानुँ भन्ने सोचेर लेख्दै थिएँ। च्याट बक्समा रोमनमा 'मलाइ थाहा थियो, तिमी अनलाइन आउँछौं भनेर' भन्ने म्यासेज आयो । बडो स्टाइलिस अक्षरमा प्रतिक्षा लेखिएको मान्छेले मलाइ म्यासेज पठाएको रहेछ । खासै चिनेजस्तो लागेन । अहिलेसम्म रिक्वेस्ट आएका कसैलाइ रिजेक्ट नगरेकोले मेरो फेसबुक साथीहरूमा करीब १ तिहाइ अपरिचित साथीहरू छन् । हुन त आफूले नि कहिलेकाहिँ नचिनेकालाइ एड गरिन्छ नत्र मिलर कम्पनीका अब्राम मिलरसँग म नाथेको के चिनजान हुनु नि! मैले रिप्लाइ गरिन अझ भनौं यति छिटो रिप्लाइ गर्न चाहिन । फेरी अर्को म्यासेज आयो, 'स्विट ब्वाय, विद होम आर यू बिजी?' स्विट ब्वाय, यो शब्दले कता कता तरंग ल्यायो । फेरी अर्को वाक्य थपियो च्याट बक्समा, 'सो सरी फर डिस्टर्विङ यू एट मिडनाइट। आइ कुडनट स्लिप विदाउट टकिङ विद यू... ही ही' मलाइ पारो छुट्यो । कुन चैं केटाले मलाइ मुर्गा बनाउन नक्कली आईडीबाट यस्तो गरायो भन्ने सोचें । तैपनी टाइप गरे, 'म्याडम, हु आर यू, आइ डन्ट न यू । एण्ड हाउ डिड यू गेट माइ नम्वर? डन्ट यू फिल एसेम्ड टू डिस्टर्व वन व्वाय एट दिस टाइम?' एकैपटकमा यी सबै टाइप गरी इन्टर थिचें। मलाइ सबैभन्दा ठूलो जिज्ञाशा चैं मैले नचिनेको व्यक्तिले मेरो मोबाइल नम्वर कसरी पायो भन्ने थियो। अफिसको भिजिटिङ कार्डमा पनि मोबाइल नम्वर छैन । मैले सार्वजनिक स्थानमा पनि मोबाइल नम्वर लेख्ने गरेको छैन। बरू इमेल एड्रेस छ्यापछ्याप्ती लेख्छु। सजिलो छ, रीस उठ्यो वा चित्त बुझेन भने स्पाममा लगेर ठेल्दियो। अनि टन्टा साफ...
'म्याडम? आइ एम नट म्याडम, एम मिस, सर। अन्डरस्टूड? लोल! बाइ द वे, यू विल नो मी सुन, बट आइ नो यू भेरी वेल।' सायद मैले सँगै स्कूल पढेको कोही हुनुपर्छ भन्ने सोंचे अनि अलिक सफ्ट भएर कुरा गरें । कुरा गर्दै गएँ, उसले मेरो तीनपुस्ते विवरण लेखी । मेरो घर, क्याम्पस, अफिस, इन्ट्रेस्ट, लगायतका कुराहरू । म छक्क परें । उसको प्रोफाइल पिक्चर हेरूँ भनेको पनि एउटा गुलाबको फूलको तस्वीर ल्याएर प्रोफाइल पिक्चर बनाएकी रहिछ। अरू तस्वीर थिएनन्। एक मनले यो पात्रलाइ फेसबुकको फ्रेन्ड्स लिस्टबाट हटाउँछु भन्ने सोचें तर अर्को मनले मेरो बारेमा सबै थाहा भएकालाइ किन हटाउनु भन्ने सोचें ।
च्याट गर्दागर्दै ४ बजेछ। यो पहिलो च्याटमा उसले नै धेरै लेखी, मैले निकै कम लेखें। बीच बीचमा निद्रा लागेन भनेर सोध्थे ताकी उ सुतोस् अनि म पनि सुत्न पाउँ। बिहान ६ बजे क्लास जानुपर्ने सम्झे । क्लासमा पनि कोही कोही लेक्चररहरूले पठाएको सुन्दा निद्रै लाग्ने । सहपाठी अर्चनाले भनेको सम्झे, 'कोही बोलेको हामी सुन्दैनौं, कोही हामी बोलेको सुन्दैनन्।' अनि हाँसे । म अरूभन्दा बढि हाँस्छु जस्तो लाग्छ, धेरै जना सिरियस हुनुपर्छ भन्छन् तर आफूलाइ सिरियस भन्ने कुरा उही मर्ने बेलाका विरामी मात्र लाग्छ। दुइ दिनको जिन्दगीमा के सिरियस हुनु, धेरै सिरियस अर्थात सेन्टिमेन्टल हुँदा आधा सेन्टि आधा मेन्टल भइएला भन्ने डर। डिच्च हाँसेर टारिदिन्छु । आफूलाइ मनपर्ने मान्छे हाँस्यो भने मुसुक्क हुन्छ र मन नपर्ने हाँस्यो भने डिच्च हुन्छ, खरेल सरले एकदिन क्लासमा सुनाउनुभएको। मलाइ पनि हो लाग्यो अनि प्रचार गर्न थालेको छु।
……………………………………………………………..
कुरा कहाँबाट कहाँ पुगेछ । करीव सवा १ देखि ४ बजेसम्म झण्डै ३ घण्टाको दौरानमा मैले प्रतिक्षाका धेरै कुरा सुने। मैले उनलाइ मेरो मोबाइल नम्वर कहाँबाट थाहा पाएको भनेर सोधे तर उनले 'चाह्यो भने जे पनि पत्ता लगाउन सकिन्छ, मोबाइल नम्वर त के हो र!' भनिन् अनि कुरा मोडिन्। उनका उट्पट्याङ गफहरू मलाइ रमाइलो त लागिरहेको थियो । तैपनि दिक्क मानेको बहाना गर्दै मैले टाइप गरे, 'नाव आई वान्ट टु स्लिप, गुड नाइट, बाइ !' अनि उनको रिप्लाइ नकुरी फेसबुक च्याटबाट अफलाइन भएँ । निद्रा लाग्यो भनेर अफलाइन भएपनि मलाइ खासै निद्रा लागेको थिएन। 'हाइ हाइ' भने गरिरहेको थिएँ। मेरो मनमा भने यो प्रतिक्षा भन्ने केटी को होला भन्न् लागिरह्यो। फ्रेन्ड्स लिस्टमा प्रतिक्षालाइ खोजे अनि प्रोफाइलमा गएँ। अचम्म, उनको फ्रेन्ड्स लिस्टमा म मात्र रहेछु अर्थात् उनको फेसबुक फ्रेन्ड म मात्र रहेछु । फेसबुक वालमा मात्र एउटा स्टाटस थियो, 'वेयटिङ फर यू'। त्योबाहेक थप केही थिएन। झनै अचम्म परे। फेसबुक इनबक्समा एउटा म्यासेज आयो। म्यासेज उनकै थियो, मध्यरातमा अनलाइन आएकोमा कृतज्ञता र डिस्टर्ब गरेकोमा सरी। आउँदो बेलुकी ९ बजेतिर अनलाइन आउन अनुरोध। रिप्लाइ गर्न जाँगर चलेन। कसले मलाइ यसरी चाटिरहेको छ, मेरो शंका झन बढ्यो।
……………………………………………………………..
बेलुकी ८ बजे नै इन्टरनेटमा जोडिएँ। स्काइप, जीटक, याहु, एमएसएन, फेसबुक सबैमा एकैपटक लगइन गरे। गत महिना पोखरा जाँदा खिचेको कलर पिक्चरलाइ फोटोशपमा ब्ल्याक एण्ड ह्वाइट गराए अनि फेसबुकमा नयाँ प्रोफाइल पिक्चरको रूपमा अपलोड गरें। क्याप्सन लेखे 'ब्ल्याक एण्ड ह्वाइट लाइफको ब्ल्याक एण्ड ह्वाइट पिक्चर' । तुरून्त इनबक्समा उही पात्रको म्यासेज आयो, 'कसरी बी/डब्लू लाइफ?' मैले स्पष्टीकरण दिनु जरूरी ठानिन, त्यसैले रिप्लाइ पनि गरिन। यतिञ्जेल म फेसबुक च्याटमा अफलाइन थिएँ, अनलाइन भैदिएँ। अनलाइन हुनासाथ उही पात्रको म्यासेज। यो फेसबुकमा इन्भिजिबल अप्सन पनि हुनु नि। कम्तीमा आफूलाइ च्याट गर्न मन नलागेकासँग त लुक्न सकिन्छ।
अँ साँच्ची, केही शंका, धेरै खुल्दुली, त्यो साँझ पनि निकै बेर अनलाइनमा गफिएछुँ। भोक लाग्न थालेपछि पो थाहा भयो। अफिसबाट फर्केपछि मेरा परममित्रहरू बनकाइँलो र नारायणसँग भृकुटिमण्डपमा खाएको एक गिलास चिया र एउटा स्लाइस केकले यतिञ्जेल थेगिरहेको थियो। भात के पकाउन थाल्नु, रोटि पकाउनु त झन् अल्छि लाग्ने। फेरी उही रारा चाउचाउ। ल्यापटपमा समय हेरे, ११ बजिसकेछ। 'म सुत्छु। मलाइ निद्रा लाग्यो। तपाइले मलाइ हिजो पनि सुत्न दिनुभएन। गुड नाइट। बाइ' यति लेखेर म्यासेज गरे अनि प्रतिउत्तरको प्रतिक्षाविनै अफलाइन भएँ।
........................................................
अब त साँझ परेपछि अनलाइनमा प्रतिक्षाकै प्रतिक्षा। सम्भवतः एउटा अनलाइन नसा। यस्तै क्रम केही दिन चलिरह्यो। च्याटका टपिकहरूः लाइफ, स्टडी, लभ, अनलाइन, प्रोफाइल पिक्चर अनि कहिलेकाहिँ पोल्टिक्स र ट्राभल। विस्तारै विस्तारै थाहै नपाई धेरै कुराहरू सेयर भएछन् र उनीसँग निकै खुल्न थालेछु। तर यतिञ्जेल पनि मैले उनलाइ चिन्न भने सकेको थिएन। उनको बारेमा जति सोधे पनि उनले म तिमीलाइ छिटो भेट्न चाहन्छु, त्यो बेला तिमीले मलाइ देख्नासाथ चिन्नेछौं। अव म उनलाइ भेट्न व्यग्र थिएँ। उनले नै भेटको प्रस्ताव राखुन् भन्ने चाहन्थे। केही दिन कुरें । एक दिन म आफै सोधे। तिमी भन्न अप्ठ्यारो लाग्यो किनभने म निकै कम केटीहरूलाइ मात्र तिमी भनेर सम्बोधन गर्छु। 'ह्वेन विल यू मिट मी?' तिमी या तपाइ, के भनेर सम्वोधन गरूँ भन्ने लागिरहेको बेला अंग्रेजीमा लेखिदिएँ। उताबाट रिप्लाइ आयो 'एज यू विस स्विट ब्वायJ' मैले आउँदो शनिबारका लागि प्रस्ताव गरें भने स्थान र समय छान्ने जिम्मा उनलाइ दिएँ। तुरून्त उनले टाइप गरिन्, 'बानेश्वर बेकरी क्याफे एट फाइभ। आई विल वि इन ग्रिन टी-शर्ट एण्ड ब्ल्याक जिन्स।' उनले त्यो दिनको हुलिया पनि बताइदिइन्। आज मंगलवार, शनिबार आउन अझ ४ रात सुत्नु बाँकी छ। अझ पाँच बजे। एक मनले त ढिलो लाग्यो, अर्को मनले शनिबारको दिन नुवाइधुवाइ सकाएर एकछिन साथीहरूसँग गफ लडाएर जान पाइन्छ भन्ने सोचें। अनि मैले 'डन' लेखे र उताबाट पनि उही प्रतिउत्तर आयो। गफ गर्दागर्दै ११ बजिसकेको थियो। प्रतिक्षासँग अनलाइन गफ गर्न लागेपछि मेरो साँझको खाने बानीमा परिवर्तन आएको थियो। खानाभन्दा महत्वपूर्ण उनीसँगको गफ लाग्न थालेको थियो। भोकलाइ जितेपनि निद्रालाइ जित्न सकेको थिएन। 'म सुतुँ?' मैले अनायास कुनै भुमिकाविना सुत्ने अनुमति मागें। पहिलेपहिले त गफ गर्दा गर्दै सिधै अफलाइन भइदिन्थे तर अचेल चाहेर पनि त्यति निस्ठुरी हुन सक्दिन। 'निद्रा लाग्यो?' उताबाट रिप्लाइ आयो। मैले नि लेखें, 'अहँ लागेन, हजुरसँग च्याट गर्दा त निद्रा नि भाग्दो रै'छ' मैले नि सटायर हाने। 'मी टू' उसले कुरा सिधै बुझेजसरी भनी। अनि मैले लेखें, 'आइ एम फिलिङ भेरी स्लिपी। भोली ६ बजे कलेज जानु छ। सो, म सुते है। गुड नाइट।' म उसको गुड नाइटको अक्षर सन्देशको प्रतिक्षामा थिएँ, उसले प्रसंग एक्कासी मोडी र सोधी, 'कलेजमा कत्तिको लाइन मारिन्छ?' मैले नि सहज उत्तर दिएँ, 'साउनको महिना हरियाली छ। लाइन त मार्दिन भन्दा नि मारिहालिन्छ।' उनले हरियालीको अर्थ बुझिनछन् क्यारे, प्रस्ट पार्न भनिन्। 'साउनको महिनामा हातभरि हरियो चुरा देखिन्छ जहितहिँ, त्यसैले हरियाली' रिप्लाइ गरे अनि 'आई वान्ट टु स्लिप। बाइ।' लेखे। सधैझैं उनको रिप्लाइ नकुरी अफलाइन भएँ। बास्तवमै सारै निद्रा लागेकोले छिटै निदाएँ।
................................................
शनिबारको प्रतिक्षा थियो। बीचका बाँकी दिनमा खासै लामा अनलाइन वार्तालाप भएनन्। म धेरै रातीसम्म अनलाइन बस्न छाडें किनभने मलाइ अलिअलि ज्वरो आउन थालेको थियो। भोलिपल्ट अर्थात बुधबार, अगस्ट ११ को साँझ फेसबुकमा स्टाटस अपडेट गरें, 'फाइनल्ली, ज्वरो आएछ।' उसले तुरून्त इनबक्समा म्यासेज पठाई, 'के भयो स्विट ब्वाय? किन ज्वरो? कि मसँग गफ गर्दागर्दै हो। मलाइ त डर पो लाग्न थाल्यो, मसँग कुरा मात्र गर्दा त ज्वरो आयो, भेटेपछि त झन्....' डटडटमै कुरा टुङ्ग्याई। टेक केयर या यस्तैको आशा थियो तर उसले त्यसो लेखिन। रिप्लाइ गर्नु पनि जरूरी ठानिन।
---------------------------------
त्यसपछि म अनलाइन बसिन किनभने मैले रेस्ट गर्नुथियो। त्यसैले, बेलुकी ९ बजे नै सुतिसक्थें। बुधबारबाट आउन थालेको ज्वरो कम, बढी गर्दै गयो। शनिबारसम्म म ज्वरोले निकै गलिसकेको थिएँ। ब्लड, युरिन टेस्ट गराउँदा केही देखिएको थिएन। डाक्टरले प्यारासिटामोल मात्र प्रेस्क्राइब गरेको थियो। यसले ज्वरो विस्तारै घट्दै थियो, २ दिनमा १ डिग्री मात्र घट्थ्यो। त्यसैले आइतबार प्रतिक्षासँग भेट्न जान सक्ने शारिरीक हैसियत मसँग थिएन। शनिबार बेलुकी एकैछिन फेसबुक खोल्न ल्यापटप अन गरें। प्रतिक्षाको म्यासेजको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको थिएँ। अचम्म, मेरो इनबक्समा उनको एउटा पनि म्यासेज देखिन। त्यसपछि, म आफै नेपांग्रेजीमा उनलाइ म्यासेज टाइप गर्न लागेः 'प्रतिक्षा, आज मैले बडो प्रतिक्षाका साथ फेसबुक खोलेको थिएँ, तर म्यासेज देखिन। अचम्म लाग्यो। हाउ आर यू? इज एभ्रीथिंग ओके? ह्वेन यू गेट दिस म्यासेज, प्लिज राइट ब्याक टू मी। अनि म भोलि बानेश्वर आउन सक्दिन कज माइ फिवर इज स्टिल हन्ड्रेड थ्री। टेक कियर।' यसरी मैले आफू भोलिपल्ट उनलाइ भेट्न बानेश्वर जान नसक्ने जानकारी दिएँ र साइन आउट गरें।
..............................................
त्यो साँझ मैले कम्प्युटरमा फेसबुक खोलिन। मोबाइलमा भने बेला बेलामा चेक गरिरहन्थे, कतै उनको म्यासेज आउँछ कि भनेर। आइतबार दिउँसोसम्म म्यासेज कुर्दाकुर्दा मेरो धैर्यको बाँध टुट्यो र मोबाइलको म्यासेज इनबक्समा गएर उनले पठाएको म्यासेज खोजें अनि पहिले म्यासेज लेखे 'हेल्लो, हाउ आर यू? इज एभ्रीथिंग ओके? टुडे आइ वन्ट कम बानेश्वर कज माइ फिवर इज स्टिल हन्ड्रेड थ्री। सरी फर इन्कन्भिनियन्स। टेक कियर। बाई!' म्यासेज सेन्ड गरे, डेलिभरी रिपोर्ट आएन। एकछिन कुरें, अब अति भएपछि त्यो नम्वरमा फोन डायल गरें। 'सरी, द इनकमिङ कल्स आर ब्लक्ड फर दिस नम्वर'
..........................................................
न फेसबुक म्यासेजको रिप्लाइ, न एसएमएसको रिप्लाइ, न फोनकल। मलाइ झन विरामी महसुस भयो। राती सुत्ने बेला सिरानीनेरको थर्मोमिटर तानेर ज्वरो नापें, ज्वरो पुगेछ- १०४।
........................................................
१०४ को ज्वरो घटेर ९८.६ मा झरिसक्यो तर मैले पठाएको एसएमएसको डेलिभरि रिपोर्ट अझै आएन, न त मैले फेसबुकमा पठाएको त्यो अन्तिम म्यासेजको रिप्लाइ आयो। अझै पनि फेसबुकमा अनलाइन भएको बेला हेरिरहन्छु कतै ती पात्र अझै पनि अनलाइन देखिन्छिन् की!

0 comments:

Post a Comment