3/24/11

ट्वीट फर कज


नेपालमा ट्वीटर चलाउने युवाहरूले 'ट्वीट फर कज' भनेर ट्वीटरबाट देश विकास गर्ने सपना देखेका छन् । 'हरेकको मुहारमा मुस्कान ल्याउने ध्येय' (a mission to bring smile on every faces!!) भन्ने नाराका साथ उनीहरूले 'ट्वीट फर कज' अभियान थालेका हुन् ।

सोसल नेटवर्किङको महत्वपूर्ण माध्यमको रूपमा स्थापित भएको ट्वीटरमा ट्वीट गरेवापत ट्वीट गर्नेले प्रति ट्वीट नेपाली २० पैसा यस अभियानमा जम्मा गर्नेछन् । यसको संस्थापकहरूले शुरूमा नेपाली एकहजार रूपैंया योगदान गर्नेछन् । यस अभियानमा सहयोग गर्न चाहने व्यक्तिले 'ट्वीट फर कज' को नाममा खोलिएको ट्वीटर अकाउन्ट @tfcNepal लाइ फलो गर्न सक्नेछन् । यसरी फलो गरिसकेपछि फलो गर्ने व्यक्तिले गरेको ट्वीटअनुसार प्रति ट्वीट नेपाली २० पैसा यस अभियानका लागि छुट्याउनुपर्नेछ । यो रकम अंग्रेजी महिनाको 25 देखि 29 गतेसम्ममा संकलन गरिनेछ । फलोअरले गरेको ट्वीटलाइ गन्नका लागि अनलाइन काउन्टिङ प्रविधी प्रयोग गरिनेछ र यसको रिपोर्टलाइ पारदर्शी बनाइनेछ । अभियानको शुरूवाती प्रस्तावमा उल्लेख भएअनुसार, यसरी संकलन भएको रकम वृद्धाश्रमका वृद्धवृद्धा, अनाथालय र सडकमा रहेका बालबालिकाको मुहारमा मुस्कान ल्याउन सक्ने गतिविधीमा प्रयोग गरिनेछ । त्यसबाहेक, सरकारी विद्यालयको सुविधा तथा गुणस्तरमा सुधार ल्याउन र पुस्तकालयमा समेत स्थापना गर्न सकिनेछ ।

मोवाइलमा चलाइने जीपीआरएस चलाउनेसहित हिसाव गर्दा पनि नेपालका करीव ३ प्रतिशत मानिसले मात्र इन्टरनेट चलाउँछन् । इन्टरनेट चलाउनेहरूले बढी सोसल नेटवर्किङ साइट चलाएपनि ट्वीटर चलाउनेको संख्या अन्यको तुलनामा निकै कम छ । तस्वीर अपलोड र अन्य विविध विशेषताका कारण नेपालमा फेसबुक सर्वाधिक प्रचलित छ । एलेक्साका अनुसार, नेपालमा सबैभन्दा धेरै चलाइने इन्टरनेट साइटहरूमा फेसबुक पहिलो नम्वरमा पर्छ, जवकी ट्वीटर एघार नम्वरमा । यसकारण पनि प्रशस्त रकम जम्मा हुनेमा चुनौती छ । यसबाहेक, यो अनलाइन माध्यम भएका कारण पनि फलो गर्नेहरू सबैले रकम नतिर्ने सम्भावना पनि उत्तिकै रहन्छ । तरपनि, अहिले नेपालीहरूमाझ ट्वीटरमा बढ्दै गरेको आकर्षणले गर्दा दिनप्रतिदिन ट्वीटर चलाउनेको संख्या बढ्दै जानेमा कुनै शंका छैन, जसले गर्दा अवश्य पनि ट्वीटको संख्या पनि बढ्नेछ । यससँगै, विभिन्न सामाजिक संघसंस्थाले पनि न्यू मिडिया र सोसल मिडियाको प्रयोगबाट हुने यस प्रकारको सकारात्मक पहलमा साथ दिन सक्ने प्रशस्त सम्भावना रहन्छ ।

इजिप्टमा सोसल मिडियाले त्यहाँको शासन परिवर्तन गर्न सम्भव भयो भने नेपालमा सोसल मिडियाले नेपालीको मुहारमा मुस्कान ल्याउन नसक्ने त प्रश्न नै रहदैंन । नेपाली युवाहरूले ट्वीटरको माध्यमबाट चालेको यो अभियान प्रशंसनीय छ र यसका लागि शुभकामना छ ।

3/14/11

भुइँचालो जाँदा के गर्ने?


गएको साता जापानमा गएको ९ रेक्टर स्केलको भुइँचालोपछि हामी निकै डराएका छौं । केही दिनअगाडि कास्की आसपास केन्द्रविन्दु रहेर एकैदिन ४ वटासम्म ससाना भुइँचालो गएको पनि हामीले सुनेका थियौं र काठमाडौंलगायत नेपालभर नै ठूलै भुइँचालो आउने हल्ला पनि सुनिएको थियो । यस्ता हल्ला सुनेर डराउनेमध्ये म पनि एकजना हुँ । त्यसैले, केही वेवसाइट र पुस्तकहरू पढेर भुइँचालो गएको बेला के गर्नुपर्छ भन्ने विषयमा अलिकलि जानकारी संकलन गरेको छु ।

मेरो जिज्ञाशा रहेको थियो, भुइँचालो कतिबेर जान्छ भन्ने । विज्ञहरू भन्छन्, भुइँचालोको रेक्टर स्केल र अवधीबीच समानुपातिक सम्वन्ध छ । कम रेक्टर स्केलको भुइँचालो केही सेकेण्डमै समाप्त हुन्छ भने बढी रेक्टर स्केलको भुइँचालो करीव २ मिनेटसम्म जान सक्छ अर्थात २ मिनेटसम्म जमिन हल्लिन सक्छ । गएको साता जापानमा गएको भुइँचालो २ मिनेटभन्दा लामो समयसम्म गएको थियो रे ।

हामीमध्ये धेरैलाई थाहा छ की, काठमाडौंका धेरै घरहरू ठूलो भुइँचालो गएमा भत्कन्छन् । घर भत्किदाँ चोट लागेर वा पुरिएर मानिस मर्छन् वा घाइते हुन्छन् । यसबाहेक घर नभत्केपनि घरभित्र रहेका सामानहरू जमीन हल्लिदाँ हल्लिएर पनि हामीलाई चोटपटक लाग्न सक्छ । त्यसैले, भुइँचालो गएको समय हामी सकेसम्म यसबाट बच्नु जरूरी रहन्छ ।

भुइँचालो जाँदा दौडेर सिढीँ चढ्नु वा ओर्लिनु हुँदैन र झ्याल अथवा कौसीबाट हाम फाल्ने प्रयास पनि गर्नुहुँदैन । सीसाको झ्याल अथवा हल्लिदाँ ढल्न सक्ने दराज, ऐना, फ्रेम वा यस्तै बस्तुको छेउछाउ पनि बस्नुहुँदैन । यदि घरबाहिर भएको अवस्था छ भने, ठूला रूख, विजुलीको पोल, पुराना वा अग्ला घरको छेउछाउ, पुलमुनि वा पुलमाथि बस्नुहुँदैन ।

भुइँचालो जानुअघि नै भुइँचालो गएको खण्डमा सुरक्षित रहनसक्ने स्थानहरूको पहिचान गर्नु राम्रो हुन्छ । यस्ता सम्भावित सुरक्षित स्थानहरूमा ढोकाको चौकोस, टेवल वा खाटजस्ता फर्निचरको मुनि वा त्यस्तै स्थानहरू रहन्छन्, जहाँ भुइँचालो जानासाथ बस्नुपर्छ । सकेसम्म आफ्नो टाउको र संवेदनशील अंगलाई तकिया, कुर्सी वा अन्य कुनै यस्तै बस्तुले छोप्नुपर्छ जसले गर्दा यस्ता अंगमा चोट लाग्ने सम्भावना कम हुन्छ । यस्ता केही छोप्ने सामान नभेटिए आफ्नो हात र पाखुरा जोडेर घोप्टो परी टाउको र आँखाको रक्षा गर्नुपर्छ । नजिकै आगो बलिरहेको भए तत्काल आगो निभाउनुपर्छ । यदि साँघुरो गल्लिमा हिडिदैंछ भने, तत्काल फराकिलो सडकमा जाने प्रयास गर्नुपर्छ । यदि सवारीसाधन चलाइँदैछ भने, सवारीको गति विस्तारै कम गरी बाटोको छेउतिर रोक्नुपर्छ; एक्कासी रोक्दा दुर्घटना हुनसक्छ । यसरी रोक्दा पनि साधनलाई घर, रूख वा यस्तैले नहानोस् वा नलागोस् भन्ने कुरामा होसियार हुनुपर्छ ।

यसरी सतर्कता अपनाउँदा अपनाउँदै केही गरी घरले पुरेमा के गर्ने त? स्रोत सामग्रीहरूका अनुसार, धैर्यताका साथ बाँचिने कुरामा आशावादी भएर उद्धार टोलिको प्रतिक्षा गर्नुपर्छ । आत्तिएर चिच्याउने, कराउने गर्दा मुटु र मस्तिष्कमा अनावश्यक प्रेसर पर्न सक्छ, त्यसैले सकेसम्म शान्त बस्ने प्रयास गर्नुपर्छ । यस्तो अवस्थामा सुस्केरा वा सिठ्ठी बजाएर उद्धारकर्मीलाई जानकारी दिने प्रयास गर्नुपर्छ ।

भुइँचालो आफैले मान्छे मार्दैन तर यसको कारण भौतिक संरचना भत्किन सक्छ र त्यसले गर्दा मानिसको ज्यान जानसक्छ । विज्ञहरूका अनुसार, नेपालमा कुनै पनि मितिमा ठूलै भुइँचालो जान सक्छ र यसले धेरै मानिसहरूको ज्यान लिन सक्छ । यति मात्र नभएर, लाखौं मानिस घाइते हुनसक्ने सम्भावना पनि रहन्छ । त्यसैले, सकेसम्म भुइँचालोबाट जोगिन पुर्वतयारी गरौं । हरेक समय भुइँचालोबाट कसरी बच्न सकिन्छ भन्ने सोचौं । तपाईहरूसँग पनि भुइँचालोबाट जोगिन सक्ने कुनै उपाय छन् भने, कृपया कमेन्ट गर्नुहोला ।