8/8/12

अपरिचिता-२


विहानमा धुँदी लागेपनि माघ महिना घमाइलो थियो । त्यो दिन एउटा राजनीतिक दलको उपत्यका बन्द थियो । हिडेर अफिस जान टाढा हुने भएकाले दिनभर डेरातिरै थिएँ । कुनै बेला सडकमा निस्केर बन्द हेर्थे, कुनै बेला डेराभित्र इन्टरनेट ।
अपरिचिताले टेक्स्ट गरी, '५ बजे बन्द खुल्ला कि नखुल्ला?'
५ बजे बन्द खोल्ने परम्परा भएकाले अनुमानमै रिप्लाइ गरे, 'मे बी।'
बन्द खुल्यो भने मसँग भेट्ने मन गरी । मैले पनि 'हुन्छ' भनिदिएँ ।
बन्द खुल्ने लगभग पक्का थियो । मतलब, अपरिचितासँग पहिलो भेट हुने भयो ।
मन आत्तिएको थियो । कुराकानीको लामो सिलसिला भए पनि पहिलो चोटी भेट्दै थिएँ ।
दाह्री बढेको थियो, काटूँ कि नकाटूँ, अलमलिएँ । ह्या! काटिन ।
फर्मल ड्रेस लगाउँ कि इन्फर्मल? जिन्स र टीसर्ट जिन्दाबाद!
सवा ५ बज्यो । अपरिचिताको फोन आयो ।
'म १० मिनेटमा तिमी बस्ने चोक नजिकै पुग्छु । त्यहाँ आइराख्नु है ।'
'अनि कता जाने?' मैले चिन्ता जनाएँ । बन्दको दिन रेस्टुरेन्टहरू प्रायः बन्द हुने । अरू डेटिङ स्पटको बारेमा थाहा थिएन । कोठामै जाउँ भन्न पनि आँट आएन ।
'मलाइ नि थाहा छैन ।'
'बाटोमा आउञ्जेल सोच्दै गर न ।' मैले जिम्मा दिएँ ।
निकोनको एउटा क्यामेरा बोकेर उसले भनेको चोक पुगे । मेरो मनपर्ने हरियो रंगको स्कूटर मेरो सामुन्ने रोकियो । रातो रंगको टीशर्ट लगाएकी स्कूटरवालीले जिन्सको ज्याकेटबाट मोवाइल निकालेर नम्वर डायल गरी । एकैछिनमा मेरो खल्तीमा रहेको मोवाइल थर्कियो । मैले थाहा पाएँ, स्कूटरवाली सुन्दरी अपरिचिता थिइ ।
'अपरिचिता!' मैले ठूलै स्वरमा भने ।
ऊ हाँसी अनि हेल्मेटको भाइजर माथि सार्दै हात मिलाइ ।
'तिमी त मैले सोचेभन्दा राम्री र योङ्ग रै'छौं ।' आँखा झिम्क्याउँदै भने ।
अनुहार रातो पार्दै उसले स्कूटरमा चढ्ने इशारा गरी ।
रहर थियो कुनै स्कूटरवालीको स्कूटर पछाडि बसेर उसँगै टाँसिएर शहर घुम्ने, पुरा हुँदै थियो । पहिले उसको स्कूटर भएको बताएकी थिइन । उसले नै सिलसिला शुरू गरी ।
'हिजो मात्र किनेकी ।' स्कूटर अगाडि बढाउँदै थपी 'अहिलेसम्म कोही पछाडि बसेको छैन । यु आर द फर्स्ट ।'
म मख्ख परे । बाइक र स्कूटरको अल्पज्ञानी मैले थपे, 'फर्स्ट सर्भिसिङभन्दा अगाडि डबल लोड हाल्नुहुँदैन भन्छन् त!'
'यु आर नट कन्सिडर्ड एज डबल लोड ।'
'किन? मेरो वेट ७२ किलो छ ।' मैले जिज्ञाशा राखे ।
हाँसेर कुरा टारी । हामी जाने कुनै गन्तब्य थिएन ।  ऊ स्कूटर हाँक्दै थिइ । जहाँ त पुगिएला, मलाइ चिन्ता थिएन । बीच बीचमा अलि अलि कुरा हुँदै थियो ।
शहरभन्दा अलिकति बाहिर एउटा शान्त ठाउँमा ऊ रोकिइ । म ओर्ले ।
उसले भनेजस्तै भयो । फोन र अनलाइनमा लामो कुरा गर्ने हामीलाइ भेटेर कुरा गर्नै आएन । एकअर्कालाइ हेरेर नै एक घण्टा वितेछ । चीसो बढ्दै थियो, मैले 'जाउँ' भने । ऊ पार्किङबाट स्कूटर निकाल्न लागी । मैले त्यहीबेला जूनको फोटो खिचे ।
हामी फर्कियौं । उसले मलाइ जहाँबाट पिकअप गरेकी थिइ, त्यही ड्रप गरिदिइ । घर पुग्नासाथ साँझ रमाइलो भएको व्यहोराको एसएमएस आयो । मलाइ भेटेर खुसी लाग्यो पनि भनी ।
---------------------------------------
एकदम नजिक भइसकेको थियौं । हरेक समय कुनै न कुनै रूपमा कुराकानी भइरहन्थ्यो । विहान उठ्नासाथ फोन, अफिस पुगेर च्याट, घर फर्केपछि फोन, त्यसपछि एसएमएस र मध्यरातमा स्काइपमा भिडियो च्याट । स्काइपमा म गीत सुनाउँदै उसको अनुहारको भाव नियाल्न रूचाउँथें ।
यो निकटतालाइ म प्रेम गर्दै थिएँ । अपरिचिता राम्री थिइ, फरवार्ड पनि । उसको कोही ब्वायफ्रेण्ड होला भन्ने शंका थियो मलाइ । मैले मनमनै निर्णय गरिसकेको थिएँ, उसलाइ सोध्ने र यदि ऊ कसैसँग सम्वन्धमा रैछ भने विस्तारै टाढा हुने ।
माघ सकिन थोरै दिन बाँकी थियो ।  'मलाइ तिम्रो साथ अनुपम लागिरहेको छ । मैले आफूलाइ माया गर्न थालेको छु । तर म चाहन्न हाम्रो यो निकटताले तिम्रो कसैसँग सम्वन्ध छ भने त्यसलाइ अप्ठ्यारोमा पारोस् ।' मैले म्यासेज गरे । उसले स्काइपमा बोलाइ र कसैसँगको सम्वन्धमा नभएको स्पष्ट पारी । तर, त्यो दिनको गफ झगडामा टुंगियो ।
त्यसपछिको चार दिन हाम्रो कुनै सम्पर्क रहेन । के कारणले हो, मलाइ ज्वरो आएको थियो । हस्पिटलमा जाँच गराउँदा टाइफाइड भन्ने पत्ता लाग्यो र म आराम गर्न कोठामै बसे ।
दिनभर सुतेकोले त्यो रात निद्रा परेन । साथी भनेकै त्यही इन्टरनेट त थियो । कम्प्युटर खुल्नासाथ स्काइपमा अटो साइन इन भयो । अपरिचिता अनलाइनमा थिइ । केही बोलूँ की नबोलूँ भयो । अलमल्लका बीच मैले उसलाइ हालखवर सोधे, उसले पनि मलाइ । दोधारे भएँ- साँचो बताउँ की झुटो । सोधे, 'साँचो भनूँ की झुटो?'
'झुटो ।' रोमनमा जवाफ फर्काइ ।
'ठीक छ ।' मैले भने ।
'के भयो? आर यु अलराइट?' सोधी ।
'नथिङ सिरियस । टाइफाइड ।'
'कसरी? कहिले? किन नभनेको? म भोलि भेट्न आउँछु ।' एकसाथ यति भनी ।
'पर्दैन । म ठीक भइहाल्छु नि ।'
'होइन, आउँछु । त्यो चोकनजिकै पुगेर फोन गर्छु लोकेसनको लागि । सी यू एट एट । अहिले सुत्नू ।' कुरो टुंग्याइ ।
विहान ८ बजेतिर चोकमा आएपछि उसले फोन गरी । म उसलाइ लिन सडकसम्म गएँ । दुबैजना स्कूटरमा डेरासम्म पुग्यौं ।
कोठाको एक कुनामा रहेको ओछ्यानको नजिकै ल्यापटप र इन्टरनेटको तार थियो । अर्को कुनामा एउटा टेवल । टेवलमाथि क्यामेरा, केहि किताव र अन्य सामान ।
उसलाइ त्यही बस्न भन्दै म किचेनमा उसका लागि कफी तयार गर्न थाले । कफी लिएर फर्किदाँ ऊ मेरो क्यामेरा चलाउन खोज्दै थिइ । उसलाइ प्लेब्याक सिकाएर ओछ्यानमा बसे । ऊ पनि मेरो नजिकै बसी । भनी 'कफी एकदम मीठो छ ।'
'म मीठो पकाउँछु ।' आफ्नो प्रशंसा आफैं गरे ।
मेरो हातको औंला चलाउँदै भनी, 'जस्तो मान्छे, उस्तै कफी ।'
म हाँसे मात्र । थ्यांक यू भन्न मन थियो तर भनिन ।
जाने बेला औंलामा चुम्दै भनी, 'आइ मिस्ट आवर कन्भसेसन ।'
'मैले पनि ।' यति भनेर ओठमा चुमिदिएँ ।
दीप श्रेष्ठले गाउनुभएको 'कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन...' जस्तै भयो ।
------------------------------------------
प्रेम झाँगिदैं थियो । पहिले काठमाडौंबाहिर जान फुरूङ्ग पर्ने म अव बाहिर जाँदा कहिले काठमाण्डु फर्किन पाइएला भन्ने भइसकेको थिएँ । हरेक पटक म बाहिर जानुअघि उसले मलाइ स्कूटर चढाएर मन्दीर लैजान्थी र यात्रा शुरू गर्ने ठाउँसम्म छोडिदिन्थी । 'मिस यु'र 'कहिले फर्किने? चाँडै फर्के हुन्न?' भन्ने टेक्स्ट गएदेखि नफर्केसम्म पठाइरहन्थी । मलाइ पनि कहिले फर्किउँ र उसलाइ भेटूँ भन्ने लागिरहन्थ्यो । जहाँबाट फर्किदाँ पनि उसका लागि केही न केही बोकेरै फर्किन्थे । उसलाइ उसको मन पर्ने खानेकुरा पकाएर खुवाउने मेरो रहर हुन्थ्यो । मैले पकाउँदै गर्दा ऊ भन्थी, 'मलाइ जीन्दगीभर सुख हुने भयो । तैपनि, मलाइ पनि सिकाउनु है ।'
--------------------------------------------
पोहोर साल असार मसान्तको दिन ऊ दंग थिइ । कारण- साउन लागेपछि हातभर हरियो चुरा र मेहेन्दी लगाउन पाइन्छ । उसलाइ झन् दंग बनाउन मैले दुइ दर्जन हरियो चुरा किनिदिएको थिएँ । साउन एक गतेको साँझ हातभरि तिनै चुरा र मेहेन्दी लगाएर मेरो डेरामाआएकी थिइ । म पनि आफ्नी प्रियसीलाइ क्यामेरामा कैद गर्न व्यस्त थिएँ । मैले खिचेको फोटो हेर्दै भनेकी थिइ, 'म तिम्रो फोटोको ठूलो फ्यान हुँ । तिम्रो फोटोको फोटो एक्जिविसन गर्ने रहर छ मलाइ ।' म पनि मख्ख पर्दै उसलाइ चुमेको थिएँ । उसलाइ पहिलोपल्ट भेटे देखि नै मलाइ उसको हेल्मेट लगाएको फोटो खिच्ने रहर थियो, त्यो पनि त्यही बेला पूरा गरे ।
--------------------------------------------------
अव ऊ हराएजस्तै भइ । न फोन उठाउँथी, न म्यासेज रिप्लाइ गर्थी, न त अनलाइनमा नै बोल्थी । यो बीचमा उसलाइ मन पर्ने मेरो किचेनको कप पनि फुटेको थियो । म बेचैन भएको थिएँ । एक साताजति अघि भनेकी थिइ, 'म खुसी छैन अचेल, थाहा छैन किन ।'भनेकी थिइ, 'तर विस्तारै ठीक हुन्छु होला ।'
एक सातापछि उसले मलाइ टेक्स्ट गरेर त्यो साँझ मसँग भेट्न चाहेको भनी । म पनि उसँग भेटेर कुरा गर्न चाहन्थे । मलाइ साँझको प्रतीक्षा थियो ।
हामी प्रायः भेट्ने गरेको मदिराशालामा हामी भेट्यौं । उसलाइ देख्दा कोही नयाँ मान्छेलाइ देखेजस्तो लागिरहेको थियो । हामी सधै बस्ने गरेको ठाउँ खाली थिएन । अर्को सिटमा बस्नुपर्यो ।
अपरिचिता मेरो सामुन्ने थिइ । मैले सोधे, 'तिमी किन हराएको यत्रो दिन? किन मलाइ यसरी 'इग्नोर' गरेको?'
'यो एक साता मैले हाम्रो बारेमा धेरै सोचे । हाम्रो सम्वन्ध, भविष्य र वर्तमान पनि ।'
'अनि?' मैले हतार गरेर सोधें ।
लामो सास फेर्दै उसले भनी 'अनि मैले तिमीसँगको सम्वन्धबाट छुटिने निर्णय गरे । सरी, मैले तिमीलाइ चोट पुर्याए । तर यो तिम्रो खुसीका लागि पनि हो ।'
मेरो ओठमुख सुक्यो । एकछिन बोल्नै सकिन । आफूलाइ बलियो बनाउँदै यकिन गर्न सोधें, 'सिरियस्ली भनेको हो?'
'हो ।'
रीस उठ्यो । ममाथि ठूलो धोका थियो त्यो । आफूलाइ विकल्पमा राख्नेका लागि किन मैले मरिमेट्ने भनेर चित्त बुझाउँदै भने, 'ठीक छ । यही नै तिम्रो खुसी हो भने मेरो कुनै आपत्ति छैन । अहिलेसम्मको साथका लागि धन्यवाद!'
अन्तिम ग्लास वाइन सकाएर जाँदाजाँदै उसले मैले किनिदिएको हरियो चुरा सुम्सुम्याउँदै भनेकी थिइ 'म तिमीसँग भन्दा धेरै खुसी नायकसँग हुनेछु । तर तिमीलाइ पनि विर्सनेछैन ।'
'तिमी मलाइ सम्झ या बिर्स, यसले कुनै अर्थ राख्दैन । अल द बेस्ट । आइ लभ माइ सिंगल लाइफ ।'
यसरी, एकछिनमा म 'सिंगल' भएँ ।