7/31/12

अपरिचिता-१


राति सपनीमा अपरिचितालाइ हरियो चुरासहित देखे । आज उसको र मेरो आधिकारिक ब्रेकअप भएको एक बर्ष पुग्यो । एक बर्षअगाडिको त्यो दिन मदिराशालामा सँगै मदिरापान गर्यां । अनि साढे पाँच महिनाको अफेयरबाट अफिसियल्ली छुटिने निधो पनि । त्यो दिनदेखि उसले सहकर्मी नायकसँग प्रेम सम्वन्ध शुरू गर्ने निर्णय गरेकी थिइ । म चैं 'सिंगल' ।
'सिंगल' बस्नुमै मजा । कहिलेकाहिँ मेरो नि गर्लफ्रेण्ड भए हुन्थ्यो जस्तो नलाग्ने होइन । तर, 'सिंगल' बस्दाजस्तो स्वतन्त्र, विन्दास लाइफ रिलेसनमा बस्दा कहाँ पाउनु? आफ्नो तालले आफ्नै लागि जिउन पाउने । जोसँग 'फ्लर्ट' गर्न पाइने । अझ, साथी र परिवारलाइ मस्त समय दिन सकिने ।
------------------------------------------
मैले ट्याग्डमा एउटा फेक एकाउन्ट बनाएको थिएँ, कहिलेकाहिँ चलाउथें । उसँगको संगत शुरू भएसी यो दैनिक भयो । उसको पनि मान्छे रियल, आइडी फेक । फेक नाममै म्यासेज आदानप्रदान हुन्थ्यो । एकदिन मलाइ आफ्नो रियल जीमेल आइडी दिइ । मैले जीमेलबाट एड गरें । ऊ अपरिचिता थिइ । सक्कली चिनापर्चीको कथा शुरू भयो ।
ट्याग्डमा कलेज लाइफ, सिनेमा र सेक्स हुन्थ्यो । राति अवेरसम्म म्यासेज । अपरिचितासँगको मिड नाइट गफले सपनामा कहिलेकाहिँ बग्थे । न्यूरोड र रत्नपार्कका सडकपेटीमा बेच्न राखेका सीग्रेड मुभी र अल्कोहलका ब्राण्ड - हाम्रा गफका टपिक । ऊ खुलेरै गफ गर्थी, मलाइ उक्साउथी पनि । सोध्थी, कति जवाफहरू दिनै गाह्रो । हाँसेरै टारिदिन्थे । शंका लाग्थ्यो, कुनै केटाले मलाइ केटीको नाममा चाटिरहेछ । बेला बेलामा सोध्थे यो पनि । जिब्रो निकालेको (:P) र दाँत देखाएको (:D) पठाउँथी । र, भन्थी, 'मै आउँ उसो भए?' 'हुन्छ' भन्न डर लाग्थ्यो । भर्खरै आउली की भन्ने डरले भन्थे, 'कुनै दिन भेटौंला नि!' कहिलेकाहिँ लाग्थ्यो, आएपनि हुने नि! हरेक रात कुरा हुनुपर्थ्यो । भएन भने बेचैनी ।
अरू बेलाजस्तै अफिसको कामले केही दिन काठमाडौंबाहिर जानुपर्ने भयो । जानुअघिको रात 'सी यू इन अ विक' भनेर जानकारी दिएँ । 'ओके, बाइ!' सहजै जवाफ आयो । सोचें, मजस्तै यसरी कुरा गर्ने अरू पनि होलान् । मन पोल्न थाल्यो । कतिबेला निदाएँ पत्तो भएन ।
काठमाडौंबाहिर मलाइ अरू कुनै कुराको बालै हुँदैन । वास्तवमै विशाल लाग्छ नेपाल । छुट्टै आनन्दको महशुस हुन्छ । काठमाडौंबाहिर जाने भन्नासाथ ज्यान पलाएर आउँछ । मैले काठमाडौं छोडे ।
इन्टरनेट विनाको एक साता विताएर फर्के । इमेलको खातले इनबक्स भरिएको थियो । जरूरी इमेलहरू रिप्लाइ गरें । ज्या! थकान र कामले ट्याग्ड खोल्नै विर्से ।
उही दिनचर्या । विहान कलेज, दिनभर श्रमशिविर, बेलुकी अवेर डेरा । खाना पकाउनेदेखि भाँडा माझ्ने सबै आफै एक्लै । टिभीमा मोह छैन, इन्टरनेट गतिलो साथी । दोस्रो दिन ट्याग्ड खोले । इनबक्सभरि अपरिचिताको म्यासेज । एउटा हैन, आठ वटा । सातवटा म्यासेज एउटै तर फरक फरक दिनको । 'गुड नाइट, मिस यू!' आठौं म्यासेज अलिक लामै थियो । 'ओइ लस्ट ह्याण्डसम, कोसँग मस्तीमा हो? तिमी त वन विकमा फर्किन्छु भन्थ्यौं त । एकदिन बढी भएछ । मिसिङ यु यार । तिम्रो त कुनै रिप्लाइ आएन :( एड मी अन ...' जीमेल आइडी पठाइ । केटीहरू सँगै हुँदा भाउ खोज्छन्, टाढा हुँदा मिस गर्छन् ।
उसले दिएको आइडीमा पनि कतै नाम थिएन । दोधार भएँ एड गरूँ की नगरूँ? एउटा बुद्धि पलायो । फेसबुक खोले । जीमेल राखेर सर्च गरें । एउटा अकाउन्ट फेला पर्यो- अपरिचिता नाममा । फोटोजेनिक अनुहार भएकी सुन्दरी प्रोफाइल पिक्चरमा । राम्री लाग्यो । कुन भुसतिघ्रेले झुक्याएको हो की भन्ने शंका पनि मेटियो । प्रोफाइल पिक्चरबाहेक अरू केही हेर्न मिलेन । केही कमेन्ट थियो । जेन्युन आइडी हो भन्ने लाग्यो । तैपनि ट्याग्डमै रिप्लाइ गरे, 'मेरो जीमेल छैन । आइडी बनाएपछि एड गर्छु है त!'
'हुन्छ हिरो ।' रिप्लाइ गरी ।
ट्याग्डमा कुरा गरेको त्यो अन्तिम दिन ऊ अलिक गम्भीर थिइ । 'गुड नाइट' भनें, सुतें ।
शनिवार, अलिक ढिलैसम्म सुते । उठ्दा ९ बजेछ । १० बजे लोडसेडिङ हुने । राइसकुकरमा खाना जोडिदिएँ, ग्याँसमा चिया । हिजो बेलुकीको भाँडा माझ्न बाँकि नै थियो । तैपनि, चियाको चुस्कीसँगै जीटक खोले र उसलाइ एड गरें । ट्याग्डको सिलसिला सकियो, जीटक शुरू भयो ।
माध्यम फेरिनासाथ कुरा पनि फेरियो । झुटो वार्तालापको क्रम समाप्त भयो । जीटकमा समाज, पढाइ, करियरजस्ता कुरा हुन थाले । व्यक्तिगत रूपमा चिनिन शुरूवातका केही दिन विते । राजधानीमा जन्मेकी र हुर्केकी अपरिचिता बीबीए लास्ट इयरको रिजल्ट कुर्दै रै'छ । २ बर्षदेखि एउटा प्राइभेट कम्पनीमा काम गर्दि रै'छ । उसको कुरा सुन्दा छोटै समयमा राम्रै प्रगति गरेको जस्तो लाग्थ्यो । जीटकमा उसको कुरा शालीन र भद्र हुन्थ्यो । अहँ, ट्याग्डमा जस्तो छिल्लिदैंनथी । कुनै बेला जिस्किन्थी र तत्काल सम्हालिन्थी ।
दुबैलाइ एक अर्काको बारेमा राम्रैसँग थाहा भइसकेको थियो । घरपरिवार, कलेज, अफिसलगायतका धेरै कुरा । परिवारसँग बस्ने उसले एक्लै बस्ने मलाइ सोध्थी, 'बोर लाग्दैन एक्लै बस्न?' जवाफ दिन्थे, 'बानी परिसक्यो । अरू कोही भए भने बरू बोर लाग्छ ।'
'पछि पनि यस्तै भयो भने गाह्रो होला है ।'
'भए हुन्छ ।' मैले भने ।
अपरिचितासँग भेट्ने मन थियो । तैपनि उसले नै प्रस्ताव गरोस् भन्ने चाहन्थें ।
फेरि केही दिनको लागि काठमाडौंबाहिर जानुपर्ने भयो । पहिलेजस्तै जाने अघिल्लो दिन म जाँदैछु भने । यसपाली उसले मलाइ दिनदिनै खवर गर्नु है भनेर मोवाइल नम्वर दिइ । मोवाइलमा नम्वर टाइप गर्दै च्याटमा सोधें, 'के भनेर सेभ गरूँ?' जवाफ दिइ 'जे मन लाग्छ त्यही ।'
मैले सेभ गर्न लागेका तीनवटा नामलाइ उसले 'हुँदैन' भनी । 'तिमीलाइ चित्त बुझ्ने नाम नपाउँदासम्म 'ब्ल्याङ्क' राखे है!' यो अन्तिम प्रस्तावमा ऊ सहमत देखिई । मैले उसको मोवाइलमा मिस्ड कल दिएँ । उसको 'ह्याभ सेफ ट्राभल' र 'गुड नाइट' सँगै म निदाएँ ।
राजधानीबाट बाहिर निस्के । 'कता पुग्यौ?' चार घण्टा पुग्दा नपुग्दै उसको म्यासेज आयो ।
अनलाइनका गफ एसएमएसमा सरे । चार दिनमा चार सय एसएमएस ।
फर्के । भोलिपल्टको साँझ उसले टेक्स्ट गरी 'मे आइ कल यू?' अहिलेसम्म उसँग फोनमा कुरा भएको थिएन । 'स्योर' रिप्लाइ गरे । कल आयो । मसँग फोनमा कुरा गर्दै अफिसबाट घर हिड्दै जाने योजना बनाएकी रै'छे । घर नपुगुञ्जेल मैसँग कुरा गरी ।
अव उसको र मेरो फोनमा पनि नियमित कुराकानी हुन थाल्यो । पछिल्ला कुराकानीले ट्याग्ड स्मरणमा धुमिलिइसकेको थियो । अव भेटघाट बाँकी ।
'मलाइ भेटूँ जस्तो लाग्दैन?' अनलाइनमा मैले सोधें ।
'लाग्छ, तर ...' ऊ अलमलिइ ।
'के तर?' मैले भने ।
'भेटेर के कुरा गर्ने भनेर दिमागै चल्दैन ।'
'दिमाग धेरै नचलाउ, मन चलाउ ।' मैले थपे, 'जुन दिन के कुरा गर्ने भन्ने पत्ता लाग्छ, त्यो दिन भन्नु है त!'
स्माइली पठाइ ।
---------------------------
६ महिनाको प्रगति । यहीबीचमा तीज, दशैं, तिहार, अंग्रेजी नयाँ बर्ष सबै गइसकेका थिए । मोवाइल र इन्टरनेटबाट धेरै कुरा भइसकेको थियो । अव भेट्न बाँकी ।
'चुरोट खान मन लागेर एकछिन बाहिर निस्केको ।' भर्खरै अनलाइनमा गफिदैं गर्दा हराएकी उसले चेन स्मोकरको शैलीमा मोवाइलमा टेक्स्ट गर्थी ।
'म पनि खान्थे नि त्यो चुरोट ।' म पनि तत्काल रिप्लाइ गर्थे ।
'मलाइ विग्रिन रहर छ ।' ऊ भन्थी ।
'मलाइ विगार्न रहर छ ।' म जवाफ फर्काउँथे ।
-----------------------------
विहानमा धुँदी लागेपनि माघ महिना घमाइलो थियो । त्यो दिन एउटा राजनीतिक दलको उपत्यका बन्द थियो । हिडेर अफिस जान टाढा हुने भएकाले दिनभर डेरातिरै थिएँ । कुनै बेला सडकमा निस्केर बन्द हेर्थे, कुनै बेला डेराभित्र इन्टरनेट ।
अपरिचिताले टेक्स्ट गरी, '५ बजे बन्द खुल्ला कि नखुल्ला?'
५ बजे बन्द खोल्ने परम्परा भएकाले अनुमानमै रिप्लाइ गरे, 'मे बी।'
बन्द खुल्यो भने मसँग भेट्ने मन गरी । मैले पनि 'हुन्छ' भनिदिएँ ।
बन्द खुल्ने लगभग पक्का थियो । मतलब, अपरिचितासँग पहिलो भेट हुने भयो ।
मन आत्तिएको थियो । कुराकानीको लामो सिलसिला भए पनि पहिलो चोटी भेट्दै थिएँ ।
दाह्री बढेको थियो, काटूँ कि नकाटूँ, अलमलिएँ । ह्या! काटिन ।
फर्मल ड्रेस लगाउँ कि इन्फर्मल? जिन्स र टीसर्ट जिन्दाबाद!
सवा ५ बज्यो । अपरिचिताको फोन आयो ।
'म १० मिनेटमा तिमी बस्ने चोक नजिकै पुग्छु । त्यहाँ आइराख्नु है ।'
(यहाँसम्म कस्तो लाग्यो, कमेन्ट पाम् अनि दोस्रो भागतिर लागम्ला है त :))