12/24/07

मलाइ पागल नठान्नु है !

मैले जीवनमा धेरै यात्राहरु गरेको छु । यात्रा गर्ने क्रममा धेरै खालका अनुभुतीहरु पनि सँगालेको छु । मलाइ यात्रा गर्ने क्रममा सबैभन्दा रमाइलो लाग्ने एउटा कुरा छ । त्यो हो गाडीको अगाडि‌‌‌ पछाडि, दायाँ बायाँ लेखीएका सायरी, भनाइ पढ्ने । तपाइको पनि यस्तै रुचि छ भने मेरो साथी बन्ने होइन त?

यो साताको अन्त्यतिर गोरखा यात्रा गर्ने अवसर मिलेको थियो । एक्लै थिएँ । त्यसैले पनि म माथि भनेजस्तै काममा ब्यस्त थिएँ । मलाइ एउटा बसको साइडमा लेखिएको भनाइले निकै मन छोयो । हुन त त्यो भनाइ प्रेमसँग सम्बन्धित थियो । त्यो भनाइले मेरो ब्यक्तिगत जीवनमा महत्व राख्दैन तर पनि मेरा साथीहरुको जीवन अध्ययन गर्दा र उनीहरुका अनुभव सुन्दा म त्यो कुरामा सहमत भएँ । त्यो भनाइ थियो: जब प्रेम फितलो हुन्छ, तब दोषहरु अनेकौं बढ्दै जान्छन् । म सहमत छु त्यो भनाइमा। बास्तवमै हो, जब प्रेम फितलो हुन थाल्छ, तब अविश्वासका लहराहरु देखिन थाल्छन् । अविश्वाससँगै एक अर्कामा दोषारोप शुरु हुन्छ तब प्रेम विस्तारै कमजोर बन्न पुग्छ । जहाँ विश्वास हुँदैन, त्यहाँ प्रेम पनि हुँदैन । यो कुरा मैले मेरो जीवनमा अनुभव गर्न भ्याएको त छैन तर मेरा धेरै साथीहरुको जीवन अध्ययन गर्दा यस्तै भेटेको छु । यदि तपाइसँग पनि यस्ता अनुभव छन् भने तपाइलाइ झन् बढी थाहा होला, मलाइ सुटुक्क भन्नुस है, म कसैलाइ भन्दिन के तपाइले भनेको भनेर ।

12/19/07

हाइकु

एसएमएस

विरही साँझ
जुन हेरेर बस्दा
तिम्रो मेसेज

निष्ठुरी मुकु
अन्तिम यो मेसेज
मेरो तिम्लाइ

तिम्रो नयन
नओभाएको भए
माफी चाहन्छु

यी सिर्जनाहरू www.kalammero.blogspot.com मा पनि हेर्न सकिन्छ ।

अर्को गजल

बिहानीमा भाले बास्दा तिम्रो याद आयो
जाडो चढी मुटु काँप्दा तिम्रो याद आयो

उज्यालो त्यो मुहार तिम्रो पुर्णिमाको चाँदसरी
पूर्व दिशा लाली चढ्दा तिम्रो याद आयो

गाइ चराउन मधुवनमा किन तिमी आइनौं सानु
डाँफे मुनाल मयूर नाँच्दा तिम्रो याद आयो

संगीनीलाइ सोधे मैले तिम्ले मन मोड्यौ अरे
मुटुभित्र पीडा साँच्दा तिम्रो याद आयो

गोधुलीको प्रहरमा रक्तिम सूर्य डाँडामाथि
छुटिएका बादल देख्दा तिम्रो याद आयो ।

यी सिर्जनाहरू www.kalammero.blogspot.com मा पनि हेर्न सकिन्छ ।

गजल

गफको तालमा मरी मरी हँसाउनेले मारे हजुर
एक नजरको इसारामा फसाउनेले मारे हजुर

कलेज जाँदा प्रायःजसो ढिला हुने गर्थ्यो मेरो
सीट रोकी आफूसँगै बसाउनेले मारे हजुर

एउटा सोझो केटालाइ प्रेमजालमा फसाएर
कसम खाइ जुनतारा खसाउनेले मारे हजुर

तिरस्कृत म माया मलाइ नगर भो
यसो बोल्दा नयनहरू रसाउनेले मारे हजुर ।

यी सिर्जनाहरू www.kalammero.blogspot.com मा पनि हेर्न सकिन्छ ।

12/17/07

एउटा रमाइलो दिन

मंसीर महिनाको अन्तिम दिन, बिहान ७ बजे आर आर क्याम्पसमा साथीहरू जम्मा भयौं । कलेजमा एक बर्ष पढिसकेको भएतापनि खासै साथीहरूसँग चिनजान थिएन । त्यसैले साथीहरूसँग नजिक हुनका लागि यो एउटा सुनौलो मौका थियो । त्यो दिन हामी बनेपामा हुन गइरहेको विभिन्न क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषय पढ्रने विद्याथीहरूको एउटा सेमिनारमा सहभागी हुन जान लागेका थियौं ।


कार्यक्रममा मैले पनि रेडियो र युवाका सवालमा एउटा प्रस्तुति दिएको थिए ।


डकुमेन्ट्ररी हेर्दै सहभागीहरू

सेमिनारका सहभागीहरू