3/24/11

ट्वीट फर कज


नेपालमा ट्वीटर चलाउने युवाहरूले 'ट्वीट फर कज' भनेर ट्वीटरबाट देश विकास गर्ने सपना देखेका छन् । 'हरेकको मुहारमा मुस्कान ल्याउने ध्येय' (a mission to bring smile on every faces!!) भन्ने नाराका साथ उनीहरूले 'ट्वीट फर कज' अभियान थालेका हुन् ।

सोसल नेटवर्किङको महत्वपूर्ण माध्यमको रूपमा स्थापित भएको ट्वीटरमा ट्वीट गरेवापत ट्वीट गर्नेले प्रति ट्वीट नेपाली २० पैसा यस अभियानमा जम्मा गर्नेछन् । यसको संस्थापकहरूले शुरूमा नेपाली एकहजार रूपैंया योगदान गर्नेछन् । यस अभियानमा सहयोग गर्न चाहने व्यक्तिले 'ट्वीट फर कज' को नाममा खोलिएको ट्वीटर अकाउन्ट @tfcNepal लाइ फलो गर्न सक्नेछन् । यसरी फलो गरिसकेपछि फलो गर्ने व्यक्तिले गरेको ट्वीटअनुसार प्रति ट्वीट नेपाली २० पैसा यस अभियानका लागि छुट्याउनुपर्नेछ । यो रकम अंग्रेजी महिनाको 25 देखि 29 गतेसम्ममा संकलन गरिनेछ । फलोअरले गरेको ट्वीटलाइ गन्नका लागि अनलाइन काउन्टिङ प्रविधी प्रयोग गरिनेछ र यसको रिपोर्टलाइ पारदर्शी बनाइनेछ । अभियानको शुरूवाती प्रस्तावमा उल्लेख भएअनुसार, यसरी संकलन भएको रकम वृद्धाश्रमका वृद्धवृद्धा, अनाथालय र सडकमा रहेका बालबालिकाको मुहारमा मुस्कान ल्याउन सक्ने गतिविधीमा प्रयोग गरिनेछ । त्यसबाहेक, सरकारी विद्यालयको सुविधा तथा गुणस्तरमा सुधार ल्याउन र पुस्तकालयमा समेत स्थापना गर्न सकिनेछ ।

मोवाइलमा चलाइने जीपीआरएस चलाउनेसहित हिसाव गर्दा पनि नेपालका करीव ३ प्रतिशत मानिसले मात्र इन्टरनेट चलाउँछन् । इन्टरनेट चलाउनेहरूले बढी सोसल नेटवर्किङ साइट चलाएपनि ट्वीटर चलाउनेको संख्या अन्यको तुलनामा निकै कम छ । तस्वीर अपलोड र अन्य विविध विशेषताका कारण नेपालमा फेसबुक सर्वाधिक प्रचलित छ । एलेक्साका अनुसार, नेपालमा सबैभन्दा धेरै चलाइने इन्टरनेट साइटहरूमा फेसबुक पहिलो नम्वरमा पर्छ, जवकी ट्वीटर एघार नम्वरमा । यसकारण पनि प्रशस्त रकम जम्मा हुनेमा चुनौती छ । यसबाहेक, यो अनलाइन माध्यम भएका कारण पनि फलो गर्नेहरू सबैले रकम नतिर्ने सम्भावना पनि उत्तिकै रहन्छ । तरपनि, अहिले नेपालीहरूमाझ ट्वीटरमा बढ्दै गरेको आकर्षणले गर्दा दिनप्रतिदिन ट्वीटर चलाउनेको संख्या बढ्दै जानेमा कुनै शंका छैन, जसले गर्दा अवश्य पनि ट्वीटको संख्या पनि बढ्नेछ । यससँगै, विभिन्न सामाजिक संघसंस्थाले पनि न्यू मिडिया र सोसल मिडियाको प्रयोगबाट हुने यस प्रकारको सकारात्मक पहलमा साथ दिन सक्ने प्रशस्त सम्भावना रहन्छ ।

इजिप्टमा सोसल मिडियाले त्यहाँको शासन परिवर्तन गर्न सम्भव भयो भने नेपालमा सोसल मिडियाले नेपालीको मुहारमा मुस्कान ल्याउन नसक्ने त प्रश्न नै रहदैंन । नेपाली युवाहरूले ट्वीटरको माध्यमबाट चालेको यो अभियान प्रशंसनीय छ र यसका लागि शुभकामना छ ।

0 comments:

Post a Comment