1/11/08

निर्वाचन कार्यक्रम प्रकाशित

निर्वाचन आयोगले चैत २८ गते हुने संविधानसभा चुनावको कार्यक्रम प्रकाशित गरेको छ ।

चैत २८ गते हुने संविधानसभा चुनावका लागि निर्वाचन आयोगले कार्यक्रम प्रकाशित गरेको छ । पुष २९ गते प्रकाशित आयोगको कार्यक्रम अनुसार, पुष ३० गतेसम्म दल दर्ता गर्ने समय छ । फागुन दोश्रो सातादेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने, निर्वाचन अधिकृत नियुक्ति र खटनपटन माघ तेश्रो सातासम्म गरिने र निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण कार्यक्रम फागुन ८ गतेसम्म गरिने आयोगको कार्यक्रम छ । यसैगरी, समानुपातिक प्रणालीका लागि माघ २८ गते थप कार्यक्रम प्रकाशित गरिने र दलहरुले समानुपातिक प्रणालीका लागि आयोगलाई फागुन ८ गते बन्द सूची बुझाउनुपर्ने आयोगको तोकेको छ । प्रत्यक्ष प्रणालीतर्फ फागुन १३ गते उमेद्वारी दर्ता गर्नुपर्ने र १९ गते उमेद्वारहरुलाई चिन्ह प्रदान गर्ने पनि आयोगले निश्चित गरेको छ ।

आयोगले प्रकाशित गरेको कार्यक्रम अनुसार, सरकारलाई निर्वाचन आचारसंहिता माघ २ गतेदेखि लाग्ने, दलहरुलाई फागुन १० गतेदेखि लाग्ने, उमेदवारहरुलाई फागुन १३ गतेदेखि लाग्ने र निजि संचार माध्यमहरुलाई फागुन १९ गतेदेखि लाग्नेछ । निर्वाचनमा खटिने स्वयंसेवक, कर्मचारी र आयोगका पदाधिकारीको १० लाख रुपैयाँ बिमा गरिने पनि आयोगले बताएको छ । आयोगले दिएको जानकारी अनुसार, माघको दोश्रो सातासम्ममा २ लाख ४० हजार जना स्वयंसेवक तथा कर्मचारीले निर्वाचन आयोगले दिने निर्वाचन सम्बन्धि प्रशिक्षण पाउनेछन् । चुनावको अनुगमन गर्न आवेदन दिएका राष्ट्रिय पर्येवेक्षक अनुवन्धित गरिसकेको आयोगले बताएको छ भने अन्तराष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि आउन आग्रह गरेको छ ।

चुनावका लागि तोकिएका बुथहरुमा ६० किसिमका चुनाव सम्बन्धि सामाग्री पुर्‍याउन थालिइसकेको पनि आयोगले जानकारी दिएको छ । यद्यपि, मौसमलगायत बिभिन्न कारणले मत पत्रलगायत सामाग्रीहरु समयमै बुथहरुमा पुर्‍याउनु चुनौतीपूर्ण रहेको आयोगको भनाइ छ । केही स्थानबाहेक मुलुकको सुरक्षास्थिति सुदृढ बनिसकेकाले चैत २८ गते चुनाव हुनेमा शंका नगर्न प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कार्यक्रममा आग्रह गरे ।
हिमालखवरबाट साभार

0 comments:

Post a Comment